अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएका छन् । कर फछ्र्यौट आयोगको मुद्दामा विशेष अदालतबाट एक करोड धरौटीमा छुटेका शर्मालाई अख्तियारले अकुत सम्पत्तिको अनुसन्धानमा तानेको थियो । अनुसन्धान अन्तिम चरणमा पुग्न लाग्दा शर्मा फरार भएका हुन् । शर्माले तीन पटक अख्तियारमा बयान दिएका थिए । बयानकै क्रममा उनले आफू बिरामी परेकाले बयानका लागि आउन नसक्ने निवेदन अख्तियारमा पेश गरेका थिए । अख्तियारले पटक–पटक बयानमा बोलाउँदा पनि शर्मा अख्तियार नगएको स्रोतले बतायो । ‘उहाँकी पत्नीले पतिलाई पुरानो रोग बल्झिएको भन्दै बयानका लागि उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि हामीले आयोगमा उपस्थित हुनका लागि घरमा म्याद टाँस्यौं ।’ अख्तियारले शर्माका नाममा पक्राउ पुर्जी जारी गरेको छ । उनी फेला परेका छैनन् । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘अब उहाँलाई जहाँ भेट्यो त्यहीँबाट समाउँछ ।’
अख्तियारले शर्मामाथिको अनुसन्धानको फाइल आयुक्तहरूलाई बुझाउने तयारी गरेको छ । अब आयुक्तहरूको निर्णयपछि शर्मामाथि अर्को मुद्दा विशेष अदालतमा दायर हुनेछ । बयान भनेको आरोपीले सफाइ दिने मौका हो, उहाँले आफैं अटेर गर्नुभएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘असहयोग गरेपछि अख्तियारले आफ्नो काम त गरिहाल्छ ।’ शर्माले आफूसँग २३ करोड सम्पत्ति रहेको बयानमा भनेका थिए । लोकसेवा आयोगका तयारी पुस्तक लेखेर सो रकम आर्जन गरेको बयानका क्रममा दावी गरिएको थियो । शर्माले २३ करोडमध्ये २० करोड रूपैयाँको स्रोत जुटाउन नसकेको अख्तियार स्रोतले जनायो । बयानका लागि अटेरी गरे पनि अनुसन्धानमा समस्या नहुने अख्तियार स्रोतले जनायो । ‘भागेर विदेश गए पनि त्यो देशको सहयोगमा उनलाई ल्याउने व्यवस्था छ,’ स्रोतले भन्यो, ‘शर्मा भाग्ने चान्स हुँदैन अहिले उनी लुकेका छन् ।’
अख्तियारको ६ नम्बर अनुसन्धान शाखाले शर्मामाथि छानबिन गरिरहेको छ । अख्तियारले शर्माका एक हजारभन्दा धेरै फाइल अनुसन्धानको घेरामा राखेको छ । अख्तियार प्रवक्ता पदमप्रसाद पाण्डेले कर फछ्र्यौटका एक हजार ६० र बाँकी केही फाइलहरू अनुसन्धानको प्रक्रियामा रहेको बताए । शर्माविरूद्ध ४५ वटा फाइल विशेष अदालतमा दायर गरिएको अख्तियारले जनायो । तत्कालीन कर फछ्र्यौट आयोगमा एक हजार ७ सय २६ जनाले निवेदन दिएका थिए । त्योमध्ये एक हजार ६० जनाको कर फछ्र्यौट भएको थियो । सबै फाइलहरू अख्तियारको अनुसन्धानमा छन् । पहिलो चरणमा एक करोडभन्दा बढी फछ्र्यौट भएका फाइलहरू खुलेका थिए, अहिले बाँकी फाइलहरू खुलिरहेका छन्,’ पाण्डेले भने, ‘पहिलो चरणमा १० अर्बको बिगो दावी भएको थियो, अब बिगो दावी बढ्छ ।’ विशेषले शर्मालाई एक करोड धरौटीमा छोडे पनि अख्तियारले शर्मामाथि निरन्तर अनुसन्धान गरिरहेको छ । शर्माले कर फछ्र्यौट आयोगमा सदस्य सचिवको रूपमा काम गरेका थिए । अख्तियारले कर फछ्र्यौट आयोगबाट २० अर्बभन्दा धेरै रकम छुट दिएर त्यहाँ भ्रष्ट्राचार भएको आरोप लगाएको छ ।

English
MTV NEPAL MTVNEPAL


