पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी आज काठमाडौं आउँदै छन् ।
३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।
अर्थमन्त्रि डा.युवराज खतिवडाले अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्ने छ । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागिता रहनेछ ।
यसअघि त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अरन अबदेखि सैनिक मञ्चमा दिइने भएको हो ।
त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी होटल याक एण्ड यतीमा पुग्नेछन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुने कार्यक्रम छ ।
सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा समेत प्रधानमन्त्री ओलीसँग छलफल हुने उल्लेख छ ।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोली बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्तापछि उनी स्वदेश फर्कनेछन् । यसबीचमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

English
MTV NEPAL MTVNEPAL


