झोलुंगे पुल बन्दा बाजागाजासहित खुशीयाली

आधुनिकताले जतिसुकै फड्को मारे पनि यहाँका बासिन्दा झोलुंगे पुल निर्माण हुँदा बाजागासहित खुशी मनाउँछन् । मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खाङसाङबाट ओखलढुंगाको पलापु जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न भएपछि ७३ वर्षीया रत्नकुमारी सार्की हर्षित हुनुहुन्छ । वर्षौंदेखि सुनकोशी नदी पार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता पुल निर्माणसँगै अन्त्य भएकोमा उहाँलगायत स्थानीयवासी खुशी भएका हुन् । जीवनको छ दशक सुनकोशी नदीमा डुंगाबाटै आवतजावत गर्दा धेरै मानिसलाई बगाएको उहाँको स्मरणमा अझै ताजा छ । कुनै दिन आफू पनि डुंगाबाटै झरिएला भन्ने डरका बीच पुलबाट यात्रा गर्न पाउँदा खुशीको सीमा नाघेको ७० वर्षीया वृद्ध गोमलाल माझीले सुनाउनुभयो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) सस्पेन्सन वृज डिभिजनले निर्माण गरेको १९४ मिटर लम्बाइको पुल शुक्रबार संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा उपस्थित स्थानीयवासीले पुल निर्माण हुँदा दशकौँदेखिको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा राज्यमन्त्री चौधरीले नदीमाथि मानिस ओहोरदोहोर गर्ने स्थानमा पुल निर्माण गर्ने मन्त्रालयको कार्यक्रम रहेको जानकारी गराउनुभयो । “अहिलेको युगमा पनि खोला तर्न झोलुंगे पुलसमेत बन्न नसक्ने अवस्था रहनुहुन्न, यसैले चालु आवमा मन्त्रालयले ६०० झोलुंगे पुल बनाउने कार्यक्रम बनाएको छ”– उहाँले भन्नुभयो ।

वर्षौंदेखिको यहाँका जनताको सपना बनेको पुल निर्माणलाई मूर्तरुप दिन समन्वयको भूमिका निर्वाह गर्नुभएका पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भए पनि जिल्लाले विकास निर्माणमा नहार्ने प्रतिबद्धता जनाउनुभयो । पुल निर्माणका लागि रु ८० लाख ५४ हजार ६४० लागत लागेको विभागको सस्पेन्सन बृज डिभिजनका वरिष्ठ डिभिजन इञ्जिनियर हुमाकान्त मिश्रले जानकारी दिनुभयो । विसं २०७३ असार १७ गते शुरु भएको पुल यसै वर्ष भदौ २० गते सम्पन्न भएको थियो । पुल निर्माणको अवधि पुस १६ गतेसम्म भए पनि निर्माण कम्पनी एमपी कन्स्ट्रक्सन कम्पनी प्रालि, नेपालगञ्जले चार महिना अघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेको स्थानीय डिल्लीराम खनालले बताउनुभयो । पुल निर्माणका लागि रु ९३ लाख ८७ हजार ५३० लाग्ने अनुमान गरिए पनि रु १३ लाख कम बजेटमै सम्पन्न भएको विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com