२९ मंसिर । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ । सगरमाथाको उचाई नाप्नको लागि गर्नुपर्ने आवश्यक तयारी पनि सरकारले पूरा गरिसकेको जनाएको छ । यसपटक सरकारले आफ्नै स्रोत र साधनको प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न लागेको हो । त्यसको लागि सरकारले २ करोड विनियोजन गरेको र आवश्यक रकम अर्थ मन्त्रालयबाट निकासा गर्न सकिने पनि जनाएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलका अनुसार , ‘भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गतवर्ष नै प्रस्ताव गरेका थियौँ, सोहीअनुरुप सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि हामीले आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगेका छौँ ।’
भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको छ । यही मंसिर २५ र २६ गते काठमाडौंमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए । विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो ।
यसअघि १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ । आगामी दुई वर्षभित्र उचाइ मापन कार्य सक्ने विभागले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


