नेपाली चलचित्र जगतकी चर्चित नायिका आँचल शर्मा हिजोआज निकै ब्यस्त नायिकामा पर्छिन । ब्युटी विथ ब्रेन शर्मालाई आम दर्शकले मन पराईरहँदा उनिबाट अभिनित चलचित्र शत्रु गते भर्खरै रिलिज भएको छ र सोचे अनुरुप दर्शकलाई हलमा तान्न सफल भै रहेको छ । ‘नाइँ नभन्नू ल ४’बाट नेपाली फिल्ममा डेब्यु गरेकी आँचल छोटो समय मै नेपाली चलचित्र जगतमा स्थापित भएकी छिन । उनै नायिका सँग गरिएको छोटो कुराकानी ।
आँचल जि आराम हुनु हुन्छ ?
ठीक छु । अली ब्यस्त छु तै पनि आफुलाई म्यानेज गरी रहेको छु । शत्रु गतेको प्रमोसन मा लागिरहनु परेकोले अली ब्यस्तता बढेको छ ।
छोटो समय मै नेपाली फिल्ममा जम्नु भयो त ?
त्यो कुरा त तपाईंहरुले जज गर्ने हो । म कुनै पनि काम इमान्दारिताका साथ गर्छु । धेरै विचार गरेर मात्र फ्लिमहरु साइन गर्ने गर्दछु । र काम गर्दा भित्री मन बाटै आफ्नो काम गर्ने हुँदा सफल भएको होला ।
तपाईंले खोजेजस्तो फिल्म भेट्नुभएको हो ?
पक्कै पनि । दुई दिनदेखि हलमा कुदिरहेका छौ । दर्शकले जसरी फिल्म रुचाइदिनु भएको छ, त्यसले एकदमै खुसी लागेको छ । आफू जोडिएको कुरालाई सबैले ‘एप्रिसियट’ गर्दा खुसी नहुने को होला र ?
तपाईंको अभिनयलाई धेरैले तारिफ गरेका छन्। तपाईं आफैंलाई चाहिँ अभिनयमा कत्तिको परिपक्व भएँ जस्तो लागेको छ ?
पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’ गर्दा मैले क्यामरा पनि देखेको थिइँन । त्यहीँ पहिलो पटक देखेको थिएँ । दोस्रो फिल्म ‘जोनी जेन्टलमेन’मा पहिलोमा भन्दा अलि धेरै विषयमा जान्ने भएँ । यो फिल्म गर्दा चाहिँ मलाई ‘सट साइज’ भनेको के रहेछ, अभिनयमा कसरी इम्प्रोभाइजेसन गरिने रहेछ भन्ने थाहा भयो । फिल्ममा दिग्गज कलाकारहरू हुनुहुन्छ, उहाँहरूसँग छेऊमा बस्दा मात्र पनि धेरै कुरा थाहा हुने रहेछ । सिकाइका हिसाबले यो फिल्म मेरो लागि अहिले सम्मको सबैभन्दा ठूलो पाठशाला रह्यो ।
‘केही दिनअघि मात्र आँचलले पत्रकारको प्रश्नलाई नै सिल्ली भनेर ‘एटिच्युड सो’ गरेको आरोप लागेको थियो ? के आँचल घमन्डी भएकी हो ?
वास्तवमा मेरो उद्देश्य त्यस्तो छँदै थिएन तर त्यस्तो हुन गयो । मैले आफ्नो गल्तीप्रति माफी मागिसकेँ । अनि जहाँसम्म ‘घमण्डी भई’ भन्ने कुरा छ त्यो चाहिँ सरासर निराधार आरोप हो । घमण्ड गर्ने मेरो संस्कार छँदैछैन र गर्दिन पनि । आखिर घमण्डले कहाँ पुगिने हो र ?
पलको सिफरिसमा मात्र फिल्म क्षेत्रमा टिकिरहेको आरोप पनि छ नि तपाईंलाई ?
यो आरोपले मलाई चित्त दुःखाउँछ । को निर्मातानिर्देशक यति मूर्ख छ कसैले भनेका आधारमा मात्र कसैलाई फिल्ममा खेलाउने । ‘पलको रिकमन्डेसनमा आँचलले शत्रुगते पाई’ भन्ने गाइँगुइँ मैले पनि सुनेकी हुँ । तर फिल्मका निर्देशक प्रदीप दा (निर्देशक प्रदिप भट्टराई)का लागि आँचल शर्मा कोही पनि होइन । यो फिल्ममा यति ठूला–ठूला कलाकार आबद्ध हुनुहुन्छ, उहाँहरूको तुलनामा पल (पल शाह), आँचल पनि कोही होइन । अनि उहाँले के–का लागि सम्झौता गर्ने ? कथामा सुहाउने भएकाले लिनु भएको हो । संयोग मात्र हो कि पलजी मेरो जोडी हुनुहुन्थ्यो । ‘जोनी जेन्टलमेन’मा पनि मलाई यही आरोप थियो । जबकि त्यसमा पनि मलाई निर्देशक नितिन चन्दले नै फिल्म अफर गर्नु भएको थियो ।

अब पलसँग काम गर्न विचार गर्ने कि ?
दर्शकले हाम्रो केमेस्ट्री रुचाइरहनु भएको छ । जोडी सुहाएको छ भनेर भनिरहनु भएको छ । दर्शकले रुचाउन्जेल गर्ने हो । अझ मलाई त पलजी र म जोडी भएर ४-५ वटा फिल्म गर्न मन छ । तर यसको मतलब मैले अरुसँग फिल्म नगर्ने भन्ने होइन । म जोसँग पनि काम गर्न तयार छु तर दुवैको सोच मिल्नु पर्यो।
‘शत्रु गते’ कै समयमा पल र तपाईं दुवैलाई लागेको अर्को पनि आरोप छ, दर्शकलाई ‘कन्फुयुज’ हुने गरी फिल्म रिलिजको मुखमा म्युजिक भिडियो रिलिज गर्नु भयो जसले फिल्मको प्रचार प्रभावित भयो ?
यो विषयमा समाचार पनि आयो । तर यो कुरामा हामीले प्रदीप दाइसँग पनि सल्लाह गरेका थियौं । उहाँले झुक्किने नझुक्किन दर्शकको आफ्नो विवेक हो भनेर भन्नुभयो । संयोग पनि त्यस्तै पर्यो कि हामी दुवैले अभिनय गरेका गीत ट्रेन्डिङमा पनि परे । अझ उहाँले गलत गीत चाहिँ नगर्नू राम्रो गीत हुँदा केही फरक पर्दैन भनेर भन्नु भएको थियो।
‘शत्रु गते’मा धेरै कलाकार भएकाले फरक पारेन होला ? तर पल र आँचल मात्र भएको फिल्म पर्यो भने त असर गर्ला नि ?
त्यो चाहिँ हामीलाई पनि थाहा छैन । यो पाला यस्तै भइहाल्यो । यो फिल्मपछि चाहिँ पल जी र म सल्लाह गर्छौं । म्युजिक भिडियो नै नगर्ने भन्ने त हुन्न तर फिल्म रिलिजको छेको पारेर रिलिज गर्ने पक्कै कम गर्छौं ।
अन्तिममा दर्शहरुलाई केही भन्नु हुन्छ त ?
सर्बप्रथम आफ्नो कुरा दर्शकहरु माझमा पुर्याइदिनु भएको मा एम.टि.भि नेपाललाई धन्यवाद दिन चाहन्छु । अस्ती बाट शत्रु गते प्रदर्शन भएको छ । हामीले धेरै मेहनत गरेका छौं, हेरेर प्रतिकृया दिनु होला । तपाईंहरुको सुझाब मेरो लागि उर्जा हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


