खडेरी परेका कारण अछाममा अधिकांश जमिन बाझो रहेको छ । पानीको अभावमा हिउँदेवाली लगाउन नपाएपछि किसानहरुका खेत बाझै रहेका हुन् । जसले गर्दा किसानहरु समस्यामा परेका हुन् । गहुँ उत्पादनमा कमी आउने भएपछि किसानहरुलाई चिन्ताले पिरोल्न थालेको छ । हिउँदको प्रमुख खाद्यन्न बाली नै भएको गहुँको उत्पादन खडेरीले प्रभावित भएको हो । छरेको गहुँको विउ समेत पनि उब्जाउ हुने संकेत नदेखिएको किसानले जानाकारी दिएका छन् । बैकल्पिक सिँचाइको व्यवस्था पनि नभएको र सिँचाईको समयमा आकासे पानी पनि नआएकोले बाली नउम्रिएको र कुनै उम्रिएको बाली पनि राम्रो नभएको गुनासो किसानले गरेका छन् ।
आकासे पानीको भरमा खेती गरिने जिल्लाको कालिका, नवाठाना, मष्टामाडांै, बुढाकोट, घुघुरकोट, मंगलसैन, पायल, मार्कु, दुनी पातलकोट, सिउडी, सोकट, बलाँता, हिच्मा, ढकारी, ढुंगाचाल्ना, तोषी, धमाली, बयाला, चाल्सा, कुइका, बिनायक, तोली, तिमिल्सैन, रिडिकोट, चण्डिकालगायतका गाउँका अधिकांश जमिनमा बाली उम्रिएको छैन भने उम्रिएको पनि सुकेर मर्न थालेको छ। खेतीपातीलाई मात्र नभएर यस वर्षको लामो खडेरीले मेलापातमा घाँस नउँम्रिदा पशुपंक्षीलाई आहारमा समेत असर परेको स्थानीय बताउँछन्। माघ ९ गते भएको हल्का वर्षाले ओसिलो जग्गामा उम्रिएको बालीलाई केही राहत पुगे पनि उम्रिदै नउम्रिएको बालीका लागि भने खासै फाइदा नपुगेको किसान बताउँछन् ।
किसानले छरेको बिउँ पनि फल्न नसक्ने अवस्था रहेको बताइरहँदा जिल्ला कृषि विकास कार्यालयले भने यस वर्ष हिउँदेवालीको उत्पादनमा धेरै ठूलो असर नपर्ने बताएको छ। वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले माघ ९ गते परेको पानीले हिउँदेवाली उत्पादनमा राहत पुग्ने बताए। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अछाम जिल्लाको कुल १४ हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। जसमध्ये तीन हजार पाँच सय हेक्टर क्षेत्रफल मात्र वर्षभरी सिंचित हुन्छ। बाँकी सबै जमिन आकासेपानीको भरमा खेती गरिन्छ। प्रदेश नम्बर सातका नौ जिल्लामध्ये तराईका दुई कैलाली र कञ्चनपुर बाहेक क्षेत्रफलका हिसाबले सबैभन्दा धेरै खेती गरिने अछाममा सिंचाइका हिसाबले भने सबैभन्दा कम क्षेत्रफल मात्र सिंचित छ।

English
MTV NEPAL MTVNEPAL


