धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिने भएको छ ।
कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि) आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो ।
गत असोज ४ गते शिलान्यास गरिएको सो नमुना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावरसमेत निर्माण गरिएको छ ।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा–सम्पन्न घर बनाइएको हो ।
करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती बनाउन कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए ।
सो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउन्डेसनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए ।

English
MTV NEPAL MTVNEPAL


