राजपा नेपालले सरकारमा जानको लागि संविधान संसोधनसहितका शर्त अगाडि सारेको छ । बुधबार विहान प्रधानमन्त्री ओलीलाई टेलिफोन गर्दै महन्त ठाकुरले उपराष्ट्रपति र दुई मन्त्री अथवा तीन मन्त्री दिनुपर्ने माग गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन र राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। उनले राजपाका सांसद रेशम चौधरीलाई संसद्मा सहभागी हुने वातावरण मिलाउने आश्वासनसमेत दिएको बताइएको छ। फोरमलाई सत्तामा सहभागी गराउन दुईबुँदे सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन्। राजपाले सरकारमा सहभागिताको निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ। राजपा अध्यक्षमण्डलको बुधबार बसेको बैठकले राष्ट्रपतिमा भण्डारीलाई नै मतदान गर्ने निर्णय गरेको महामन्त्री केशव झाले दिए।
सरकारमा सहभागिताका लागि संघीय फोरमले यसअघि नै प्रधानमन्त्रीसँग संविधान संशोधनको सर्तसहित दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख वा तीन मन्त्रालय मागिसकेको छ। फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने पार्टीगत निर्णय भइसके पनि वाम गठबन्धनसँग लिखित सहमति नभएसम्म सरकारमा नजाने बताएका छन्। संसदीय दलको बुधबार बसेको बैठकमा उनले यस्तो जानकारी गराएका हुन्।

English
MTV NEPAL MTVNEPAL


