काठमाडौं,१२ भदौ । सरकारले लागु गरेको धरौटीका कारण म्यानपावर व्यवसायीहरु धरासायी बनेका छन् । सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई संसोधन गरी नयाँ धरौटीको व्यवस्था गरेपछि व्यवसाय चलाउने की नचलाउने भन्नेमा म्यानपावर व्यवसायीहरु द्विविधामा परेका छन् । धरौटी राख्ने अन्ति म्याद यही भदौ १८ गते सम्म रहेको छ । सरकारले वार्षिक पाँच हजार भन्दा बढी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई चार करोड वैंक ग्यारेन्टी र दुई करोड नगद जम्मा गर्नु पर्ने व्यवस्था गरेको छ, त्यसै गरी पाँच हजार सम्म कामदार पठाउने म्यानपावरलाई तीन करोड वैंक ग्यारेन्टी र एक करोड नगद जम्मा गर्नु पर्ने व्यवस्था गरेको छ । तीन हजार कामदार पठाउनेलाई एक करोड पचास लाख वैंक ग्यारेन्टी र पचास लाख नगद जम्मा गर्नु पर्ने कडा व्यवस्था गरे सँगै म्यानपावरको संख्या ह्वात्तै घट्ने देखिएको छ । सरकारले वार्षिक एक सय जना कामदार नपठाउने म्यानपावरको लाइसेन्स नै नविकरण नगर्ने कडा नीति लिए सँगै करोडौं रकम सरकारी ढुकुटीमा जम्मा गरे पनि म्यानपावर व्यवसाय सञ्चालन गर्न कठिन हुने व्यवसायीहरुको धारणा रहेको छ । सरकारले अन्य व्यवसाय गर्नको लागि राखेको धरौटीको व्याज दिने गरेको छ । तर म्यानपावर सञ्चालन गर्न राखेको धरौटीको व्याज भने म्यानपावर व्यवसायीले पाउने छैनन् । यसरी सरकारले म्यानपावर व्यवसायीहरुलाई सौताको व्यवहार गरेको भन्दै म्यानपावर व्यवसायीहरुले आक्रोस व्यक्त गरेका छन् ।वर्षिक चार देखि पाँच लाख सम्म नेपाली युवायुवतीहरु वैदेशिक रोजगारीमा जाने गर्दछन् । स्वदेसमा सरकारले रोजगारीको अवसर प्रदान गर्न पनि नसक्ने र वैदेशिक रोजगारीको कार्य गरिरहेका म्यानपावर कम्पनीहरुलाई सहज वातावरण पनि नबनाइदिनाले मुलुकको अर्थतन्त्र धरासायी बन्नेमा म्यानपावर व्यवसायीहरु चिन्तित रहेका छन् । सम्पूर्ण प्रकृया पुरा गरी करोडौंको धरौटी राखेर वैधानिक रुपमा व्यवसाय सञ्चालन गरिरहेका म्यानपावर व्यवसायीहरुलाई राज्यले अपराधीको जस्तो व्यवहार गरेको म्यानपावर व्यवसायीहरुले आरोप लगाएका छन । राज्य स्वयंले वैदेशिक रोजगारीको लागि कोरिया मुलुक पठाउँदा लाखौं असुल्छ,आवेदन फर्म भर्दा हजारौ असुल्छ,तीन डलरमा बन्ने पासपोर्टलाई दसौं हजार लिन्छ तर म्यानपावर व्यवसायीहरुलाई निशुल्क वैदेशिक रोजगारीमा पठाउ भन्छ–यो म्यानपावर व्यवसायलाई समाप्त पारेर वैदेशिक रोजगारलाई धरासायी बनाउने खेल हो नाम नबताउने शर्तमा एक व्यवसायीले मिथिला टिभीलाई बताए ।
गत वर्ष जेठ देखि विभिन्न कारण देखाइ सरकारले मलेसिया बन्द गराएको छ । मलेसिया नखुल्दा मलेसियाको लागि काम गर्दै आएका म्यानपावर व्यवसायीहरु टाट पल्टेका छन् । मलेसियाको रोजगारी कहिले खुल्ने भन्ने अझै अनिश्चित रहेको छ । घरभाडा तिर्न नसक्दा ऋण लिन,श्रीमतीका गरगहना बेच्न,जेथा,जमिन राखेर व्यवसाय धान्न बाध्य भएको व्यवसायीहरुले उल्लेख गरेका छन् । अहिले आएर करोडौं धरौटी राख्नु पर्ने अवस्था सृजना हुँदा म्यानपावर व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको उनीहरुले जानकारी दिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


