माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।
तर , सो आदेश नमान्न माल्दिभ्स सरकारले आग्रह गरेको छ । सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
यो आदेशसँगै माल्दिभ्समा विपक्षी दलले संसद्मा बहुमत प्राप्त गरेको छ । तर माल्दिभ्स सरकारले अदालतको आदेश अस्वीकार गर्दै संसद् स्थगित गरिदिएको छ ।
अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले राष्ट्रपतिलाई गिरफ्तार गरिनु गैरकानुनी हुने बताए । उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगाए ।
उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश दिए त्यो असंवैधानिक हुने बताए । उनले सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिए ।
यसैबीच पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् । उनले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गरेका छन् ।
विपक्षी दलका प्रवक्ता अब्दुल गफूरले सरकारले आदेशको पालना नगरेको भन्दै प्रधानन्यायाधीशसहित दुई जना वरिष्ठ न्यायाधीशलाई पक्राउ गर्न सरकारले प्रयास गरेको आरोप लगाएका छन् ।
उनले सरकारले न्यायपालिकाको शक्तिलाई कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए ।

English
MTV NEPAL MTVNEPAL


