यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको हो । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।
महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन लागिएकाले कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गराउन प्राथमिकता दिन लागिएको छ ।
११ दिनसम्म चल्ने महोत्सवमा २७५ स्टल समावेश हुने प्रचारप्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताए । ‘कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ,’ उप्रेतीले भने ।
‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेको पाँचौं नुवाकोट महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउन केन्द्रित गराइने आयोजकले दाबी गरेका छन् ।
महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको सम्बर्द्धन गराउन गोरु जुधाइ, त्रिशूली नदीर्मा याफ्टिङ, साततले दरबार परिसरबाट प्याराग्लाइडिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


