शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
उत्तरपुस्तिका परीक्षणको काम सकिए पनि प्राविधिक काम बाँकी रहेको भन्दै उनले असारको तेस्रो हप्ताभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिकाअनुसार नै काम भइरहेको बताएका छन् । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले पनि परीक्षाको नतिजा यही हप्ताभित्रै सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । एसईई गएको चैत १७ गतेदेखि सुरु भएको थियो । परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए । कक्षा ९ देखि प्राविधिक धारसमेत पढाउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसईईमा सहभागी भएका थिए ।

English
MTV NEPAL MTVNEPAL


